लको संघीय राजधानीबाट ६८८ कि.मि. पश्चिम, सुदूरपश्चिम प्रदेशमा अवस्थित कैलाली समथर भूभाग तथा चुरे पहाड मिश्रित जिल्ला हो । नेपालका ठुला जनसंख्या भएका पाँच वटा जिल्लाहरू मध्येको एक यस जिल्लाको क्षेत्रफल ३२३५ वर्ग कि.मी (पहाड ४०.३५% र तराई ५९.७५%) र जनसङ्ख्या (२०६८ को जनगणना अनुसार) ७,७५,७०९ रहेको छ । समुद्री सतहबाट १०९ मिटर देखि १९५० मिटर सम्म अवस्थित यस जिल्लाको सदरमुकाम धनगढी हो । प्रदेशको अस्थायी राजधानी रहेको यो शहर नेपालको एक प्रमुख व्यापारिक शहर मध्येको एक हो । यहाँको औषत बार्षिक बर्षा १८४० मि.मि. एवं न्यूनतम् तापक्रम ५ देखि १९ डिग्री सेन्टिग्रेडसम्म र अधिकतम तापक्रम १९ देखि ४६ डिग्री सेन्टिग्रेडसम्म रहेको छ । यस जिल्लामा ६ गाउँपालिका ६ नगरपालिका र १ उपमहानगरपालिका गरी जम्मा १३ वटा स्थानिय तह रहेका छन । पहाडी जिल्लाहरूबाट जनसंख्याको ठुलो हिस्सा बसाइ सरी आउने भएकाले यहाँको जनसंख्या तिब्र गतिमा बढिरहेको छ ।
· जिल्लाको नामकरण
कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन् । परापूर्व कालमा कैलाली जिल्ला कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। पछि यही ठाउँको नामबाट यसको नाम कैलाली रहेको हुन सक्छ । यस ठाउँलाई पहिले कालापानी पनि भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाय दिने गरिन्थ्यो। माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिद्ध छ।
· प्रमुख धार्मिक स्थलहरु:
शिवपुरीधाम, गोदावरीधाम, श्री कार्तिकेय (मोहन्याल), श्री सिंहासन, बेहडाबाबा, लक्ष्मीनारायण मन्दिर, नैनादेवी मन्दिर, वनदेवी मन्दिर, घोडाघोडी, बुट्का बाबा, बर्दगोरीया, गोदावरी नगरपालिका बडी मछेली नदिको छेउमा रहेको ग्वासी समैजीको थान (स्यालपाठा-कारा नामले पनि चिनिने यस थानमा देवीदेवताको पूजाको साथै बोकाको बलि पनि दिइन्छ।) लगायत महत्वपूर्ण धार्मिक स्थलहरु रहेका छन् ।
· ऐतिहासिक र पौराणिक पर्यटकीय स्थलहरू :
क. कर्णाली नदी र सोही नदीमा निर्मित पुल
नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुल सुदूरपश्चिमलाई मुलुकका बाँकी भागसँग जोड्ने प्रमुख द्वार हो । मल्टी स्पान सस्पेन्सन ब्रिज नामले चिनिने यो पुलको लम्बाइ ५ सय मिटर र चौडाइ १४ मिटर छ । सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदी स्वादिष्ट माछाको स्वादसँगै र्याफ्टिङ आनन्दका लागि यहाँ दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् ।
ख. राजकाँडा
कैलालीको लम्कीदेखि करिब १६ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिका– ७ मा स्थित राजकाँडामा सूर्योदयको दृश्य नजिकैबाट देख्न सकिन्छ । हावापानीका दृष्टिले पनि उपयुक्त रहेको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ बन्दै गइरहेको छ । हाल कर्णाली चिसापानीदेखि राजकाँडा सम्म केवलकार निर्माणको पहल समेत भैरहेको छ।
ग. टीकापुर पार्क
स्वीट्जरल्याण्डको लक्साल शहरको नक्साअनुरुप रेखाङ्कन गरिएको टीकापुर पार्क करिब ५ विगाह क्षेत्रफलमा फैलिएको छ । यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू पाइन्छन् । यो पार्क विशेष गरी पिकनिक खान आउने पर्यटकहरूका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ । यद्यपि वि.सं २०२८ सालमा तत्कालीन राजा महेन्द्रले यहाँबाट एक महिना नेपालको राजकाज चलाएको इतिहासका कारण यसको गरीमा अझ बढेको छ ।
घ. प्रकाशेश्वर महादेव मन्दिर
टीकापुर नगरपालिका स्थित सत्ती बजारमा रहेको प्रकाशेश्वर महादेवको मन्दिर नेपालमै प्रसिद्ध छ । पूर्वतर्फ मुख फर्किएको सबभन्दा ठूलो तथा दुर्लभ शिवलिङ्ग भएको यो मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ । यो मन्दिर टीकापुर बजारभन्दा ९ किलोमिटर दक्षिणतिर पर्छ ।
ङ. घोडाघोडी ताल
धनगढीबाट ६० किमी पूर्व र कर्णाली चिसापानीबाट ३७ किमी पश्चिम जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल विश्व रामसार सूचीमा सूचीकृत एउटा महत्वपूर्ण सम्पदा हो । अत्यन्त रमणीय र आकर्षक यो ताल दुई हजार पाँच सय ६३ हेक्टर क्षेत्रफलमा हत्केला/अमिवा आकारमा फैलिएको छ । यसका वरिपरी १९ वटा सानाठूला तालहरू छन् । यस क्षेत्रमा करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धान लगायत विभिन्न किसिमका जिवजन्तु तथा वनस्पती पाइन्छन ।
च. गर्वा दरबार
चुरे गाउँपालिकाको खैरालास्थित गर्वा दरबार सुदूरपश्चिमकै एक मात्र राणाकालीन दरबार हो । अत्यन्त जीर्ण अवस्थामा रहेको भएतापनि विक्रम सम्बत १९८२ सालमा निर्माण गरिएको उक्त दरबारको ऐतिहासिक महत्त्व भने कम छैन । चौमालाबाट १८ किलोमिटर उत्तरतर्फ पर्ने यो दरबार चौमालाबाट ६ घण्टा पैदल हिँडेपछि पुगिन्छ । राणाहरुले दरबार बनाउन प्रयोग गरेको इँटा गर्भाको डाँडामा बनाएको इतिहास रहेको छ ।
छ. भादा होमस्टे
थारू जीवनशैली र संस्कृतिका लागि भादा गाउँ प्रख्यात मानिएको छ । धनगढी उपमहानगरपालिका– १६ मा रहेको भादा होमस्टे गाउँ थारू समुदायको जनजीवन लगायत खानेकुराका विशेष परिकारहरूको कारण प्रसिद्ध छ। धनगढीबाट बेली हुँदै भादागाउँ १७ किलोमिटर, पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किलोमिटर र झिलबाट १२ किलोमिटरमा रहेको यो गाउँ धनगढी बजारदेखि २० किलोमिटर पूर्वमा पर्छ ।
ज. गोदावरी
अत्तरियाभन्दा ७ किलोमिटर उत्तरतर्फ रहेको गोदावरी धाममा धार्मिक पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । हिन्दु धर्मावलम्बीहरुका लागि हरिद्वार झैं पवित्र धाम मानिएको यस क्षेत्रमा हनुमान मन्दिर सेवा समितिको पहलमा मूर्तिकार प्रभुराम महराद्वारा निर्मित नेपालकै सबैभन्दा अग्लो बजरंगवली हनुमानको ५२ फिट अग्लो मूर्तिपनि छ ।
झ. खानीडाँडा
चुरे गाउँपालिकाको खाँनीडाडा प्राकृतिक रूपमा मनोरम स्थल हो । चिसो मौसममा गर्मी र गर्मी मौसममा चिसो अनुभव गर्न पाइने यस स्थानमा सोही अनुभूति गर्न र रमाइलो गर्न सिजनमा पर्यटकहरुको घुइंचो लाग्छ । चुरे शृंखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडा नजिकको कम्पासेधुराबाट पहाड र तराईका रमणीय दृश्य लगायत अपि सैपाल हिमाल पनि देख्न सकिन्छ ।
जिल्ला समन्वय समितिले गरेका महत्वपूर्ण कार्यहरु
क. कैलाली भ्रमण वर्ष, २०७५ :
मिति २०७५ बैशाख २२ गते नेपाल सरकारका तत्कालिन उपप्रधान एवं रक्षा मन्त्री श्री इश्वर पोखरेलबाट लम्की चुहा न.पा., वडा नं. ३, चिसापानीमा समुद्घाटन भएको कैलाली भ्रमण वर्ष, २०७५ मा पूर्व एवं तात्कालिन विशिष्ट राजनैतिक, पदाधिकारी, जनप्रतिनिधि सहित सयौंको संख्यामा High Profile व्यक्तित्वहरुको उपस्थिति र जनसहभागिता रहेको थियो । १ वर्षसम्म संचालन भएको भ्रमण वर्ष कार्यक्रम अन्तर्गत उक्त अवधिमा सोल्टादेखि चिसापानीसम्म २३ किलोमिटर र्याफ्टिंग ज्याम्बोरी (१११ र्याफ्ट बाट र्याफ्टिंग), ताल तलैया महोत्सव, बेहँडाबाबा महोत्सव, गौरीगंगामा रोपाईं महोत्सव, टिकापुरमा डल्फिन महोत्सव, राजकाँडा महोत्सव लगायत विभिन्न ९ वटा क्रियाकलाप भई मिति २०७६ बैशाख २५ गते भ्रमण वर्षको समापन गरिएको थियो । भ्रमण वर्ष कार्यक्रमको मूल्यांकन गर्दा कैलाली जिल्लाको पर्यटन इतिहासमा यो कोशेढुङ्गाको रुपमा रहेको, तर त्यसपछि लगातार २ वर्ष कोभिड सृजित लकडाउनका कारण समग्र व्यावसायिक क्षेत्र प्रभावित हुँदा यसको प्रतिफल मापन गर्न कठिन भएको छ ।
भ्रमण वर्षका केही झलकहरु :
ख. स्थानीय तहसँगको समन्वय बैठक :
जिल्ला समन्वय समिति र स्थानीय तहहरु बीचको पारस्परिक अन्तर्सम्बन्ध र समन्वय प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन समस्या केन्द्रित भई जिल्ला समन्वय समितिको पहल र स्थानीय तहहरुको आलोपालो व्यवस्थापनमा पटक पटक जिल्लाका विभिन्न स्थानमा स्थानीय तहसँगको समन्वय बैठक आयोजना गरिएको र उक्त बैठकहरुको कारण स्थानीय समस्या समाधानमा महत्वपूर्ण उपलब्धी हासिल भएको अनुभूति गरिएको छ ।
ग. कर्णाली नदी व्यवस्थापन सम्बन्धी समन्वय बैठक :
कैलाली र बर्दिया जिल्लाको सीमा नदिको रुपमा रहेको कर्णाली नदीमा नदीजन्य पदार्थको संकलन तथा उत्खनन् लगायत विविध कारणले नदीको धार परिवर्तन भई सृजित परिस्थितिजन्य जोखिमलाई व्यवस्थापन गरी नदीबाट बहुपक्षीय लाभ लिन जिल्ला समन्वय समिति कैलालीको आयोजनामा बर्दिया र कैलाली जिल्ला समन्वय समिति, स्थानीय प्रशासन, स्थानीय सरकार, रानी जमरा कुलरिया सिंचाई आयोजना, सामुदायिक वन, सिंचाई उपभोक्ता लगायत सरोकारवालाको संयुक्त समन्वय बैठक जिल्ला समन्वय समिति कैलालीका प्रमुख श्री सूर्य बहादुर थापा ज्यूको अध्यक्षतामा २ पटक बसी कर्णाली नदीसँग सम्बन्धित पर्या पर्यटन (Eco Tourism) को संरक्षण, विकास, व्यवस्थापन र प्रवर्द्धनका विषयमा व्यापक अन्तरक्रिया गरी महत्वपूर्ण निर्णय लिइएको थियो । यी अन्तर्जिल्ला समन्वय बैठकहरुबाट सरोकारवालालाई नदिप्रणालीसँग सम्बन्धित पर्यावरणको बारेमा महत्वपूर्ण पृष्ठपोषण प्राप्त भएको अभिव्यक्ति सहभागिहरुबाट व्यक्त भएको थियो ।
घ. नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठक :
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धी प्रक्रियाको अनुगमन गर्ने प्रयोजनका लागि “ढुंगा, गिट्टी, बालुवा, उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७” को दफा ९ बमोजिम गठित नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठक समितिका संयोजक एवं जिल्ला समन्वय समिति, कैलालीका प्रमुख श्री सूर्य बहादुर थापा ज्यूको अध्यक्षतामा बसी बिभिन्न स्थानीय तह मार्फत टेण्डर प्रकृयाद्वारा ठेक्कामा लगाइएका कैलाली जिल्लाका विभिन्न नदी र खोलानालाहरुको नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन् र संकलन अवस्थाको अवलोकन गर्न पटक पटक स्थलगत अनुगमन गरिएको थियो ।
यसरी अनुगमन गर्दा कतिपयले IEE नगरी ठेक्कामा लगाएको, IEE गरेकाले पनि भएका प्रावधानको पालना नगरेको, स्थानीय अनुगमन संयन्त्र प्रभावकारी नदेखिएको, जथाभावी उत्खनन् गर्दा नदी खोलाहरुको धार परिवर्तन भई खेत तथा बस्तीहरु डुबान एवं कटानको चपेटामा परेको, वर्षेनी बालीनाली/जिउधनको क्षती हुनेगरेको, चिसापानीमा कर्णाली नदीको गेरुवा भंगालो पश्चिमपट्टि धारमा मिसिंदा राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिंचाई आयोजना कटानको उच्च जोखिममा परेको लगायत विविध किसिमका समस्या पहिचान भएका थिए ।
पहिचान भएका समस्याको आधारमा तिनको निराकरणका लागि सो सम्बन्धमा भएका कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकाय सक्रीय हुने, स्थानीय अनुगमन संयन्त्रलाई क्रियाशील बनाउने, IEE स्वीकृत नगरी उत्खनन् नगर्ने, IEE का प्रावधान कडाइका साथ लागू गर्ने, क्रसर उद्योगहरुलाई नियमन एवं व्यवस्थित गर्ने, सो सम्बन्धी विधी मापदण्डको पालना गर्ने र यी सबैको प्रभावकारिताको लागि जिल्ला स्तरीय अनुगमन संयन्त्र सक्रीय हुने निर्णय सहित समस्या समाधानार्थ स्थानीय तहलाई तपसिल बमोजिम सुझावहरु दिइएको थियो :
· IEE/ EIA प्रतिवेदन स्वीकृत भैसकेपछि त्यसको १ प्रति अनिवार्य जि.स.स. मा पठाउने व्यवस्था गर्नुपर्ने,
· नदीजन्य पदार्थको उत्खनन्/संकलन/विक्री व्यवस्थापनको सन्दर्भमा IEE/ EIA प्रतिवेदनमा उल्लेख भएका प्रावधान कडाइका साथ लागू गर्ने, उल्लङ्घन गरेको पाइए कडा कारबाही गर्नुपर्ने,
· स्थलगत रुपमा चारकिल्ला तोकी Location point को रेखांकन गरी सूचना पाटी राख्नुपर्ने,
· स्थानीय अनुगमन संयन्त्र/कार्यदललाई क्रियाशील बनाइ जि.स.स. मा समेत अनुगमन प्रतिवेदन पठाउने,
· स्काभेटर एवं ब्याकहो लोडर जस्ता भारी सवारी उपकरण प्रयोगको निम्ति जथाभावि अनुमती दिन बन्द गर्नुपर्ने, अनुमती दिन सकिने संख्या, आधार र मापदण्डको बारेमा कार्यपालिका बैठकबाट कार्यविधी बनाई कार्यपालिकाको नियमन सीमाभित्र रहनेगरी प्रमुख प्रशासकीय अधिकृतले अनुमती दिने व्यवस्था गर्नुपर्ने,
· नम्बर प्लेट नभएका भारी सवारी उपकरणको प्रयोग भएको पाइएमा नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ वा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनु पर्ने,
· चालु आ.व. पश्चातका कम्तिमा २ आ.व. सम्म कर्णाली नदीको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्रीको निम्ति टेण्डर मार्फत नभई स्थानीय तहले आफ्नै प्राविधिक र कर्मचारी खटाई IEE/ EIA प्रावधान र सीमाभित्र रही गर्नुपर्ने, त्यसपछिको स्थिति समिक्षा गरी सोका लागि आवश्यक विधी चयन गर्न उपयुक्त हुने,
· क्रसर उद्योगको दर्ता, अनुमती र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन कार्यपालिका मार्फत वातावरणमैत्री कार्यविधि बनाई कडाईका साथ लागू गर्नु उचित हुने ।
केही झलकहरु :
ङ. मुक्त कमैया पुनर्स्थापना सम्बन्धी स्थानीय तह समन्वय बैठक :
भजनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, भजनीको च.नं. ८३, मिति २०७८/०४/१२ गतेको पत्रबाट अनुरोध भैआए बमोजिम उक्त नगरपालिका लगायत स्थानीय तहबाट मुक्त कमैया पुनर्स्थापनाको बाँकी काम गर्नेगरी आ.व. २०७५/०७६ को अन्त्यमा वित्तीय हस्तान्तरण भई आएकोमा बजेटको कार्यान्वयन हुन नसकी बजेट फ्रिज भएको, त्यसपछिका आ.व. मा सम्बन्धित निकायबाट बजेट व्यवस्था नभएको, पुनर्स्थापना अन्तर्गत रकम भूक्तानीका लागि लाभान्वित समुदायबाट निरन्तर माग भैरहेको र पटक पटक रकम निकासाका लागि मन्त्रालयमा पत्राचार गर्दापनि कुनै निकास प्राप्त हुन नसकी मुक्त कमैया तथा हलिया पुनर्स्थापनाको विषय झन् जटिल हुँदै गएको सन्दर्भमा मिति २०७८/०४/१३ गतेक दिन जि.स.स. को आयोजनामा जिल्लाका १३ वटै स्थानीय तहको समन्वय बैठक बसी बैठकको निर्णय अनुसार मुक्त कमैया पुनर्स्थापनाको निम्ति बजेट व्यवस्था सहित आवश्यक सहयोग गरिदिन भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत नेपाल सरकारलाई अनुरोध गरिएको थियो ।